मलाई कुनै पदको लालसा छैन : विद्या भण्डारी

भनिन्, ‘मलाई रोक्न मिल्दैन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको बताएकी छिन् ।शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर्क गरेकी हुन् ।

‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ उनले भनिन् ।

साथै, उनले आफू राजनीतिमा आएर देश र जनताको सेवा गर्ने विषयलाई अनौठो नमान्न आग्रह गरेकी छिन् ।

‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन,’ भण्डारीले भनिन्, ‘यो संवैधानिक अधिकार मात्रै होइन । मुलुकमा राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको दिन र आफ्नो पार्टी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हो ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता विवादमा पार्नुपर्ने विषय नै नभएको बताएकी छन् । भण्डारीले आफूलाई सदस्यताबाट वञ्चित गर्न कदापि नमिल्ने बताइन् । आफूले पार्टी सदस्यताले लिएको ४५ वर्ष भइसकेको उल्लेख गर्दै सदस्यता नवीकरणबाट रोक लगाउन नमिल्ने बताएकी छिन् ।

‘पार्टी सदस्यताबाट वञ्चित गर्नुपर्ने कारण छैन । नेपालको संविधान, ऐन र संवैधानिक अधिकार र स्वतन्त्रतालाई नियन्त्रण गर्ने पार्टीको अपरिपक्व निर्णयले दुःखी बनाएको छ’, भण्डारीले पत्रकार सम्मेलनमा भनिन्, ‘यसले साख गिर्नेछ ।’ उनले आवेग र उत्तेजनाका भरमा गरिने यस्ता निर्णयले वास्तविकता छोप्न नसकिने भन्दै विवेकसम्मत निर्णय लिनुपर्छ भन्ने जबजको मर्म भएको बताइन् ।

  • ९ श्रावण २०८२, शुक्रबार १६:१० प्रकाशित