बैंकक ।
सीमा विवादका कारण थाई र कम्बोडियाली सेनाबिच भएको झडपमा कम्तीमा १२ जना थाई नागरिकको ज्यान गएको छ। ज्यान गुमाउनेमा अधिकांश सर्वसाधारण रहेका छन्।
थाइल्यान्डका स्वास्थ्य मन्त्रीका अनुसार झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको छ। सुरिन प्रान्तमा एक ८ वर्षीय बालक सहित दुई सर्वसाधारणको ज्यान गएको छ भने उबोन रत्चाथानी प्रान्तमा एक सर्वसाधारणको ज्यान गएको छ । श्रीसाकेत प्रान्तमा एक १५ वर्षीय किशोर र एक सैनिक सहित आठ सर्वसाधारणको ज्यान गएको छ।
कम्बोडियामाथि थाई गाउँमा रकेट प्रहार गरेको र एक अस्पतालमाथि आक्रमण गरेको आरोप लागेको छ । त्यस्तै थाइल्यान्डले कम्बोडियाली सैनिक ठेगानालाई निशाना बनाएर हवाई हमला गरेको छ।
थाइल्यान्डले आफ्ना सबै नागरिकलाई कम्बोडिया छोड्न भनेपछि कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गरेको छ। यता, कम्बोडियाले भने थाइल्यान्डमाथि ‘अत्यधिक बल’ प्रयोग गरेको आरोप लगाउँदै बैंककसँगको सम्बन्धलाई कमजोर बनाएको छ।
थाइल्यान्डको विदेश मन्त्रालयले कम्बोडियालाई यस्ता कार्यहरू रोक्न आग्रह गरेको छ, जसलाई उसले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भनेको छ। मन्त्रालयले यदि कम्बोडियाले सशस्त्र आक्रमण जारी राखेमा थाइल्यान्ड आत्म(रक्षाका उपायहरूलाई तीव्र पार्न तयार रहेको पनि बताएको छ।















