संयुक्त मोर्चा बनाऔँ : प्रचण्ड

केन्द्रभाग मिडिया

file photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता तथा बलियो संयुक्त मोर्चा बनाउन अपिल गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजना भएको कार्यक्रममा उनले अपिल गरेका हुन् । कार्यक्रममा प्रचण्डले कम्युनिस्ट पार्टीहरू अलग अलग नभई संयुक्त बलियो मोर्चा बनाउन समेत आग्रह गरे ।

‘दलाल पुँजीवादसँग समर्पित हुने तत्त्वप्रति उदारता देखायौँ भने कुनै कम्युनिस्ट आन्दोलनको अर्थ रहने छैन । दलाल पुँजीवादविरुद्ध खडा हुने सबैसँग एकता, सहकार्य र ध्रुवीकरण हुन जरुरी छ । मलाई लाग्छ दलाल पुँजीवाद र नोकरशाहीविरुद्ध एक हुन सक्यौँ भने बलियो कम्युनिस्ट मोर्चा बनाउन सक्छौँ’, उनले भने, ‘त्यसैले बलियो कम्युनिस्ट मोर्चा बनाउन म अपिल गर्छु । पार्टी एकता पनि गरौँ । संयुक्त मोर्चा पनि बनाऔँ । धेरै व्याख्या गर्न आवश्यक छैन । पार्टी एकता र संयुक्त मोर्चा बनाए मात्र पुष्पलालप्रति सच्चा सम्मान हुन्छ ।’

पुष्पलाल सबैले सम्मान गर्ने दार्शनिक, राजनीतिज्ञ भएको स्मरण गर्दै उनले जो दलाल पुँजीवादीका पछि लाग्छन् उनीहरू सच्चा कम्युनिस्ट नभएको जिकिर गरे ।

  • ७ श्रावण २०८२, बुधबार १६:५४ प्रकाशित