जङ्गली च्याउ खाँदा रुकुममा एकै परिवारका दुई जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

रुकुम पूर्व ।

रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । जिल्लाको भूमे गाउँपालिका-५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको ज्यान गएको हो ।

योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । सोही परिवारका अन्य दुई जना भने गम्भीर घाइते छन् । मृतकका आमा ३५ वर्षीया रामकुमारी सुनार र उहाँकी छोरी नौ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यही २ गते जङ्गलबाट ल्याइएर च्याउ खाएर बिरामी भएकामा साउन ५ गते मात्र रुकुम पूर्व अस्पतालमा गएका थिए । अस्पतालमा उपचार हुन नसकेपछि सबैलाई जिल्ला अस्पतालले ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाएको थियो । दुई जनाको उपचारका क्रममा ज्यान गएको छ भने बाँकी दुई जनालाई नेपालगञ्ज भेरी अस्पताल पठाइएको छ ।रासस

  • ७ श्रावण २०८२, बुधबार १४:४० प्रकाशित