पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको राजनीतिमा आउने बाटो बन्द

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नराख्ने निर्णय गरेको छ । यससंगै भण्डारीको सक्रिय राजनीतिमा फर्कने बाटो बन्द भएको छ ।

मंगलाबार मध्य राति सकिएको एमालेको नवौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्दै प्रस्ताव प्रस्तुत गरेका थिए, जुन बहुमतले पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। यद्यपी उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले भने उक्त निर्णयप्रति आपत्ति जनाएका एक नेताले जानकारी दिएका छन् ।

गौतमका अनुसार, ‘पूर्व राष्ट्रपति राष्ट्राध्यक्ष, संविधानको संरक्षक र राष्ट्रिय एकताको प्रतीक भएकाले उनी कुनै दलको झन्डा बोकेर हिँड्नु संविधानको मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको हो ।’

यसैबिच, केन्द्रीय कमिटीको बैठकले अर्को महत्त्वपूर्ण निर्णय गर्दै भदौमा हुने विधान अधिवेशनमार्फत वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला गरेको छ । यसका लागि पार्टीले ७० वर्षको उमेर सीमा र दुई कार्यकालको प्रतिबन्ध हटाउने निर्णय लिएको हो, जसले विधान संशोधनको बाटो खोलेको छ ।

बैठकमा बोल्ने अधिकांश नेताहरूले ‘मिसन २०८४’ का लागि केपी ओलीको नेतृत्व आवश्यक रहेको सुझाव दिएका थिए। गौतमले भने, ‘७० वर्षको उमेर हद र कार्यकालको सीमालाई हटाएर ओलीलाई रोक्न नचाहेको स्पष्ट पारेका छन् ।’

एमालेले यस्तो निर्णय गर्नुअघि भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्न नहुनेमा केही केन्द्रीय सदस्यहरू उभिएका थिए । तर उनीहरूको आवाज अल्पमतमा पर्‍यो केन्द्रीय कमिटी बैठकमा भण्डारीको पक्षमा उभिने केन्द्रीय सदस्यहरूमा उषाकिरण तिम्सिना, कैलाश ढुङ्गेल, इन्द्रलाल सापकोटा, रचना खड्का, अरबिन्द सिंह, युवराज बाँस्कोटा, रामलाल साह, बिनादेवी राई, शिव सुवेदी, कैलाश ढुङ्गेल, शिव सुवेदी, केदार न्यौपाने, पार्वती रावल लगायत रहेका थिए ।

 

  • ७ श्रावण २०८२, बुधबार ०६:४८ प्रकाशित