पोखरा ।
आफ्नै नवजात शिशुको हत्या आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी ५ घर भई हाल पोखरा ९ नागढुंगा बस्ने ३७ वर्षीय गोविन्द लामिछाने रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गत १३ असोजको साँझ ५ः१५ बजे पोखरा १४ चाउथे स्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा उनले फालेको छोरा जातको नवजाज शिशुको शव भेटिएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पोष्टमार्टम गरि त्यसको रिपोर्ट अनुसार उक्त नवजात शिशुको घाँटी र टाउकोमा लागेको चोटको कारण ज्यान गुमेको
भन्ने खुलेको थियो । तत्पस्चात प्रहरीले कर्तव्य गरी मारेको एकिन गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाएको हो ।
कास्की प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आइतबार पक्राउ गरिएको हो । आफ्नो श्रीमतीलाई सुत्केरी व्याथा लागेर अस्पतालमा चेकजाँच गर्न ल्याउँदा उनी पक्राउ परेका हुन् ।
उनलाई कर्तव्य ज्यान सम्बन्धी कसूरमा अदालतबाट ७ सात दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए ।















