ढाका ।
राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा सैनिक प्रशिक्षण विमान खस्दा २५ बालबालिकासहित २७ जनाको ज्यान गएको छ। यो दुर्घटनालाई बंगलादेशको इतिहासमै सर्वाधिक मानवीय क्षति भएको वायुसेना दुर्घटनाको रूपमा लिइएको छ।
ज्यान गुमाउनेहरूमा एक जना पाइलट, एक शिक्षक र २५ जना स्कुले बालबालिका रहेको अधिकारीहरूले पुष्टि गरेका छन्। थप ७८ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन्।
पहिलो एकल फाइटर फ्लाइट सञ्चालन गरिरहेका फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम सागरलाई दुर्घटनापछि मिलिटरी अस्पताल पुर्याइए पनि बचाउन सकिएन।
मंगलबार बिहान ८ बजे नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख सल्लाहकारका विशेष सहायक डा। सयेदुर रहमानले मृतकको सङ्ख्या पुष्टि गर्दै २० वटा शव परिवारलाई हस्तान्तरण भइसकेको जानकारी दिए।
दुर्घटनाको विवरण अनुसार, एफटी–७बीजीआई नामक लडाकु प्रशिक्षण विमानले सोमबार दिउँसो १ : ०६ बजे कुर्मिटोला एयर बेसबाट उडान भरेको थियो। तर, केही मिनेटमै यान्त्रिक समस्याका कारण १ : १८ बजे विद्यालय भवनमा खसेको सेनाको अन्तरसेवा जनसम्पर्क निर्देशनालय (आईएसपीआर) ले जनाएको छ।















