शशांक बुबा बीपीको स्मृति दिवस मनाउन सुन्दरीजल जाने

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले आफ्ना बुबा कांग्रेसका संस्थापक तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस मनाउन सुन्दरीजल जाने भएका छन् ।

सुन्दरीजलमा रहेको बीपी सङ्ग्रहालयमा पुगेर स्मृति दिवसको कार्यक्रम सुरु गर्ने तय भएको डा.कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

०३९ साल साउन ६ गते बीपी कोइरालाको निधन भएको थियो । शशांकले संग्राहलयमा पुगेर बुबाको तस्बिरमा माल्यार्पण गरेर एक घण्टा बस्ने तिवारीले जानकारी दिए ।

तत्कालीन राजा महेन्द्रले जन निर्वाचित कोइराला नेतृत्वको सरकारमाथि २०१७ साल पुस १ गते ‘कू’ गरेर पहिलो संसद् विघटन गरी प्रत्यक्ष शासन सुरु गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीबाट अपदस्थ गरिएका बीपीसहितका कांग्रेस नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसहितलाई आठ वर्षसम्म थुनेर राखिएको सुन्दरीजल जेललाई प्रजातन्त्र पुनर्स्थापनापछि बीपी सङ्ग्रहालयका रूपमा विकास गरिएको छ ।

सङ्ग्रहालयमा प्रथम राष्ट्रपति रामवरण यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीपीलाई स्मरण गर्न पुगेका छन् । अहिलेको स्मृति दिवसमा बीपीका कान्छा छोरा शशांक सुन्दरीजल पुग्न लागेका हुन् ।

  • ५ श्रावण २०८२, सोमबार १५:५५ प्रकाशित