कुमुदिनीका विद्यार्थीलाई उत्प्रेरित गर्दै डा. कटवालले सुनाए सफलताका रहस्यहरु

केन्द्रभाग मिडिया

पोखरा।
स्थापनाको ३९औं वर्षमा रहेको पोखरा ४ गैह्रापाटनमा अवस्थित प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा आईतबार कक्षा ११ का विद्यार्थीलाई स्वागत र उत्प्रेरणा जगाउने कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको सभाहलमा अभिभावकसहित उपस्थित भएका विद्यार्थीहरु, शिक्षक तथा अभिभावकका लागि उत्प्रेरक डा.रविन कटवालले सफलताका रहस्यहरुको बारेमा सहजिकरण गरे । कार्यक्रममा सहभागि विद्यार्थी, अभिभावक लगायत सबैलाई कक्षा १२ का विद्यार्थी अर्जुन विकले स्वागत गरेका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीको सर्वाङ्गिन विकासका लागि र भविष्यमा सफल व्यक्ति बन्नका लागि यसप्रकारका मोटिभेसन कार्यक्रमहरु निरन्तर गर्दै आएको बताए ।

‘विद्यार्थी पनि हाम्रा छोराछोरी हुन् । उनीहरुको शिक्षाका लागि हामीलाई सुम्पिनु भएको छ । अब हाम्रो दायित्व उनीहरुको पढाईसंगै अतिरीक्त कार्यक्रहरुमा अब्बल बनाउनु हो यसमा हामी कुनै कन्जुस्याई गर्दैनौ ।’ पालिखेले भने

यसपालिको एसईईमा सलीना खत्रीले चार जिपिएसहित ६३ विद्यार्थीले उत्कृष्ट नजिता हाँसिल गरेकोमा उनले विद्यार्थी, अभिभावक, शिक्षक सबैलाई आभार व्यक्त गरे । उनले सलीनालाई रुपैयाँ १ लाख १ हजारसहित स्वर्ण पदकले विशेष समारोहमा सम्मान गरिने बताए ।

‘हाम्रो चाहाना विद्यार्थीलाई प्रेसर दिएर यतिउति जिपिए ल्याउनै पर्छ भन्ने होईन । विद्यार्थीले ५० प्रतिशत मेहनत त गर्नै पर्यो बाँकी अभिभारा विद्यालयले पूरा गर्छ । हाम्रा चार जिपिए नल्याएका विद्यार्थीहरु सलोन श्रेष्ठ, सुमिना श्रेष्ठ, आदित्य तथा राजन आचार्य लगायतले दशौं हजार विद्यार्थीलाई उछिनेर देश विदेशका प्रतिष्ठित कलेजहरुमा स्कलरसिपमा अध्ययन गरिरहेका छन् । हामीले तत्कालका लागि नभई भविष्यको सफल कर्णधार बनाउन चाहिरहेका छौं । हाम्रा विद्यार्थीहरुले त्यहि लयलाई पकडेकोमा हामी र अभिभावक सबै खुसी हुनुपर्ने कुरा यही नै हो ।’ अध्यक्ष पालिखेले भने

विद्यार्थीसहित अभिभावक तथा शिक्षकलाई उत्प्रेरणा जगाउन काठमाडौंबाट पोखरा आएका उत्प्रेरक डा.रविन कटवालले द सेक्रेट अफ सक्सेस् अर्थात सफलताका रहस्यहरुका बारेमा सहजिकरण गरे । उनले ज्ञान जस्तो ठूलो कुरा अरु नभएकोले हामी सबैको पहिलो सर्त भनेको शिक्षा नै रहेको बताए । यो मेहनत गरेर, सिकाईको लगाव राखेर आर्जन गरिने चिज भएकोले मेहनतका श्रृंखलाहरु चढिरहन सुझाए ।

सफलता प्राप्तिका लागि विद्यार्थीहरुले नेपाली कला, संस्कार, संस्कृति जान्न आवश्यक भएको बताए । उनले भने ‘तपाँईहरु भाग्यमानि हुनुहुन्छ । यो विद्यालय कला, संस्कार, संस्कृति, वातावरणको संरक्षण् र प्रवर्धनका लागि अगाडी रहेको छ । यो त यहाँ रहेको कलात्मक संरचना, २००, ३०० वर्ष पुराना झ्याल ढोकाहरु र भक्तपुरे ईंटाको प्रयोटबाटै प्रष्ट भईसकेको छ ।’

उनले थपे, ‘संसारमा ५ प्रतिशत मानिसहरु सफल छन् । बाँकी रहेका ९५ प्रतिशत कुनै न कुनै उल्झनमा रहेकोले, मेहनतको कमिले सफल हुन सकेका छैनन् । म भन्छु देशमा मात्रै होईन विदेशमा पनि स्यालुट गर्ने उदेश्य लिएर अगाडी बढ्नुपर्छ र त्यो ज्ञानबाटै संभव छ।अहिले १२ पास गर्न पाको छैन विदेश जान हतार, अभिभावकलाई विदेश पठाउन हतार भईरहेको देखिन्छ । विदेशमा हामीले सोचे जस्तो छैन । कति डिप्रेसनमा परेका, धपडिमा परेका छन् त्यो कसैले हेक्का गरेको छैन । पैसा नै कमाउने हो भने कुनै पनि क्षेत्रको अध्ययन गर्नुस् त्यो देशमै बसेर पूरा गर्न सकिन्छ ।’

‘ज्ञान प्राप्त गरेको व्यक्ति संसारमै सुन्दर हुन्छ र सबैले चिन्दछन् । उ विशिष्ट व्यक्तिको रुपमा कहलिन्छ । अबका २० वर्षमा मैले देख्नेछु र सुन्नेछु तपाँई भाईबहिनीहरु सुन्दर र विशिष्ट व्यक्ति भईसकेको हुनुहुनेछ ।’उनले भने

सबैले सपना देख्नुहोस् र त्यो साकार पार्ने लक्ष्यमा लागिरहनुस् शतप्रतिशत त्यो सपना साकार हुन्छ म ठोकुवासाथ भन्छु, उत्प्रेरक कटवालले भने । विद्यार्थीहरुले आफ्नो दिमागलाई सक्रिय बनाईरहनु पर्ने र अल्छिपनालाई हटाउनु पर्ने बताए । सधैं सकारात्मक सोंचको विकास गर्नुपर्ने, उत्साहित हुनुपर्ने, हण्डर ठक्कर र संघर्षबाट कहिल्यै पछि नसरे, काममा तल्लिन भईरहे, आशावादी भईरहे, आफैंलाई विश्वास गरिरहे र कुशल योजनाकारको रुपमा स्थापित हुन सबै ज्ञान आर्जनबाटै संभव हुने उनले भने ।

कार्यक्रममा यसपटकको एसईईमा चार जिपिए ल्याउने सलिना कत्री लगायतका विद्यार्थीलाई सम्मान गरिएको थियो । कक्षा ११ मा साइन्स, व्यवस्थापन र होटल व्यवस्थापनतर्फ भर्ना भएका विद्यार्थीहरुलाई स्वागतसहित फूलमाला लगाई स्वागत गरिएको थियो । कक्षा ११ का विद्यार्थीले स्वागत नृत्य प्रस्तुत गरेका थिए । सोहि अवसरमा यस शैक्षिक सत्रबाट अध्यापनका लागि आएका शिक्षक डा। झपेन्द्र अधिकारी, शुवास शर्मा र सचिन सुवेदीलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा व्यवस्थापन, होटल व्यवस्थापन तर्फका विभागीय प्रमुख विकास ढुंगानाले व्यवस्थान शिक्षाका बारेमा सहजिकरण गरे । विज्ञान तर्फका संयोजक कृष्ण अधिकारीले विज्ञान विषय र यसका आयामहरु तथा विद्यार्थीले विद्यालयमा पालना गर्नुपर्ने कुराहरुको चर्चा गरेका थिए ।

कवि, विद्यालय व्वस्थापन समितिकी सदस्य सरस्वती प्रतिक्षाले टिनएजबाट पार हुन लागेका अहिलेका विद्यार्थीहरु सूचना र संचारका सामग्रीबाट टाढा रहन नसक्ने भएकोले पढाईको अवधिभर प्रयोगमा ल्याउन कडाई गर्नुपर्ने र सुरक्षित व्यवस्थापनको खाँचो रहेको बताईन् ।

कार्यक्रममा मिस नेपाल आस्मा केसीको पनि सहभागिता रहेको थियो । सहप्राचार्य मुकेश अधिकारी, शिक्षक, शिक्षिकाहरु र पाहुनसमेतको उपस्थिति रहेको कार्यक्रको समापन गणित शिक्षक मन बहादुर भुजेलले गरेका थिए । सो अवसरमा उनले हाम्रो जिम्मामा विद्यार्थीहरु दिईसकेपछि हामी विद्यार्थी बनाउँछौ । उनले भने, सही बाटोमा उनीहरुलाई लैजानका लागि हाम्रो प्रयत्न रहने र केहि समस्याको अनुभूति भएको बखतमा विद्यालय आएर सल्लाह सुझाव दिन अभिभावकलाई अनुरोध गरे ।

कार्यक्रमको सञ्चालन नेपाली शिक्षक उमेश रेग्मीले गरेका थिए ।

  • ५ श्रावण २०८२, सोमबार ११:५८ प्रकाशित