आज साउनको पहिलो सोमबार, देशभरको शिव मन्दिरमा घुइँचो

केन्द्रभाग मिडिया

पोखरा ।
आज यस वर्षको साउन महिनाको पहिलो सोमबार । भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पोखरासहित देशभरका शिवमन्दीरमा व्रतालु तथा श्रद्धालु भक्तजनको बिहानै देखि भिड लागेको छ ।

देशकै प्रशिद्ध मन्दिर पशुपतिनाथ दर्शनका लागि व्रतालु तथा श्रद्धालु लामवद्ध भएका छन् । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ ।

पोखरामा बोलबम यात्रा 

पोखरामा बोलबम यात्रा सुरु भएको छ । बोलबम पदयात्रामा भगवान केदारेश्वरको रथ, नौमति बाजा, विभिन्न सांस्कृतिक समूहद्वारा भजनीकीर्तन र झाँकी एवं जलाघडासहितको प्रदर्शन गरिने स्वामी चित्धन चैतन्य महाराजले जानकारी दिए ।

सोमबार बिहान ७ बजे सेती नदीको गाईघाटमा नेपाली सेनासहितका सुरक्षाकर्मीको उद्दार टोली खटिएका छन् । सेती नदीको जल लिएर आउने पैदल यात्रुलाई बजारको विभिन्न स्थानमा सर्वत पानी, कागती पानी, मिश्री पानीसमेत उपलब्ध गराइने र मन्दिरमा आउने सबैलाई प्रसादको व्यवस्था गरिएको छ ।

बोलबम पदयात्राका सहभागीलाई जलार्पण कार्य सहज बनाउन स्वयंसेवक परिचालन गरिने छ । सो अवसरमा मन्दिर परिसरमा विशेष मञ्चबाट राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान, विश्व हिन्दू महासंघ सांस्कृतिक समूह र विभिन्न भजन समूहले भजन प्रस्तुत गर्नेछन् ।

भक्तजन आज बिहानैदेखि मन्दिरमा आएर दूध र सेती नदीको जल चढाइरहेका छन् । मन्दिरमा मध्यान्हमा विशेष पूजा र रुद्राभिषेक हुँदैछ । साँझपख मन्दिरमा आरतीमा हुने उनले बताए ।

पोखरामा २४ वर्ष अघि बोलबम देवादीदेव महादेव आशुतोषको विशेष अनुष्ठान गरेर बोलबम पदयात्रा प्रारम्भ गरिएको थियो । साउन महिनाको हरेक सोमबार गाईघाटबाट जल लिएर पदयात्रा गर्दै बैदामस्थित केदारेश्वर महादेव मन्दिरमा पुगेर जल विसर्जन गरिँदै आएको छ ।

  • ५ श्रावण २०८२, सोमबार ०५:४८ प्रकाशित