स्याङ्जा ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लामा संचालित लिफ्टिङ् खानेपानी योजनाहरुलाई १ करोड ३३ लाख ६४ हजार ६ सय ५६ रुपैयाँ विद्युत महशुल अनुदान दिएको छ ।
स्याङ्जाका १ सय ३३ योजनालाई ८६ लाख ७८ हजार ८४ रुपैयाँ र कास्कीका ३६ योजनालाई ४६ लाख ८६ हजार ५७२ रुपैयाँ अनुदान पाएका छन् । प्रदेश सरकारको लिफ्टिङ् खानेपानी योजनालाई विद्युत महशुलमा अनुदान दिने कार्यक्रम अन्र्तगत कार्यालयले स्याङ्जा र कास्कीमा संचालित १ सय ६९ योजनालाई अनुदान दिएको हो ।
लिफ्टिङ् खानेपानी आयोजना विद्युत महशुल अनुदान कार्यविधी २०७९ का आधारमा अनुदान दिएको कार्यालयका प्रमुख हरि प्रसाद तिमिल्सिनाले बताए । अनुदान पाएका योजनाबाट स्याङ्जाका २१ हजार ९६४ र कास्कीका १३ हजार ८०८ गरी ३५ हजार ७७२ परिवार लाभान्वित भएका छन् ।
मासिक २५ हजार रुपैयाँसम्म विद्युत खपत गर्ने लाभग्राहीलाई शतप्रतिशत अनुदान दिइएको छ । मासिक २५ हजारदेखि ४० हजारको महशुलमा ७५ प्रतिशत, ४० हजारदेखि ६० हजारसम्मको विद्युत खपतमा ५० प्रतिशत र ६० हजारदेखि ८० हजारसम्म महशुल खपत गर्ने योजनालाई २५ प्रतिशत अनुदान दिएको कार्यालय प्रमुख तिमिल्सिनाले जानकारी दिए । मासिक ८० हजारभन्दा बढीको विद्युत खपत गर्ने योजनालाई १० प्रतिशत मात्रै अनुदान उपलब्ध गराईएको छ ।
ठूला योजना अर्थात तीन स्टेप वा सोभन्दा बढी स्टेप पानी तान्ने योजनाको हकमा भने ४० हजारको ९० प्रतिशत, ६० हजारसम्म ६५ प्रतिशत, ८० हजारको ४० प्रतिशत र ८० हजार भन्दा बढी महशुल खपत गर्ने योजनालाई १५ प्रतिशत अनुदान दिइएको छ ।
जिल्लामा क्रमागत २ सय ४७ खानेपानी योजना संचालनमा रहेका छन् । पछिल्लो आर्थिक वर्षमा १० वटा खानेपानीका योजनाहरु पूर्ण रुपमा निर्माण सकिएको इन्जिनियर कमल बरालले बताए । यो वर्ष निर्माण सम्पन्न भएका योजनाबाट झण्डै ८ हजार जनसंख्या लाभान्वित भएको छन् । योसँगै जिल्लामा १ हजार ५८६ योजना सम्पन्न भई संचालनमा छन् ।
प्रदेश सरकार बनेसँगै जिल्लामा हालसम्म १ सय ६१ योजना निर्माण सम्पन्न भएका छन् । इन्जिनियर बरालका अनुसार निर्माण सम्पन्न भएका योजना अन्र्तगत २३ हजार ४३ भन्दा बढि घरमा ‘एक घर, एक धारा’ जोडिएको छ भने १ लाख १७ हजार ५ सय १७ जनसंख्या लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०८१÷०८२ मा कार्यालयले ९५ प्रतिशतको हाराहारीमा वित्तीय प्रगति गरेको छ । यो वर्ष २३ करोड ३ लाख ४६ हजार रुपैयाँ खर्च भएको कार्यालय प्रमुख तिमिल्सिनाले बताए । उनका अनुसार चालु वर्षमा पनि जिल्लामा उत्तिकै संख्यामा योजनाहरु संचालन रहने छन् ।













