काठमाडौं।
राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई विधानविपरीत पदबाट हटाउने निर्णयलाई पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्रीद्वय डा। धवल शम्सेर राणा तथा कुन्ती कुमारी शाहीले दुःखद घटना भनेका छन्।
उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गिरीलाई स्पष्टीकरणको मौकासमेत नदिई पदमुक्त गरिनुले पार्टीको प्रजातान्त्रिक छविलाई आँच पुर्याएको भन्दै आपत्ति जनाएका हुन्।
‘यो स्वेच्छाचारिता अस्वीकार्य छ र यसले पार्टी एकता, आन्तरिक प्रजातन्त्र र विधिको शासनमा अवरोध पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस एकलौटी कार्यले देशभरिका पार्टीका साथीहरू र शुभेच्छुकहरूलाई दुखित एवं चिन्तित तुल्याएको छ।’
नेतात्रयले पार्टी नेतृत्वलाई गिरीलाई पदमुक्त गर्ने गल्ती सच्याउन र उहाँलाई पूर्ववत् पदमा कायम राख्न ध्यानाकर्षण गराएका छन्। उनीहरूले गिरीले पार्टी हितमा आफ्नो जीवनको ऊर्जाशील समय व्यतीत गरेको र गत महाधिवेशनदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराएका छन्।
विज्ञप्तिमा सबैलाई पार्टीको आदर्श र सिद्धान्तलाई आत्मसात् गर्दै एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरिएको छ। यसलाई समयको माग र चुनौतीको रूपमा लिँदै एकआपसमा विश्वास गरेर अगाडि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।














