तुइनको डोरी चुँडिएर महाकाली नदीमा खस्दा एक जना बेपत्ता

केन्द्रभाग मिडिया

File photo

दार्चुला ।

दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङ्गका २८ वर्षीय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

दुम्लिङ्ग (नेपाल)बाट भारततर्फ तुइन मार्फत जाँदै गर्दा डोरी चुडिएर उनी महाकाली नदीमा खसेको उनले बताए । नेपालतर्फ दुम्लिङ्ग र भारततर्फको गर्भाधार क्षेत्रमा वारपार गर्न अवैध रूपमा तुइन लगाउने गरेको पाइएको छ ।

बेपत्ता नारायणसँगै अन्य दुई जना स्थानीय एकै पटकमा तुइन तरिरहेका बेला डोरी चुडिएको बताइएको छ । यस्तै, सँगै तुइन तरिरहेका उनीहरू मध्ये दुई जना सकुशल छन् भने नारायण महाकालीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटना मध्यान्ह १२ बजेतिरको भएको उनले जानकारी दिए ।

  • ३१ असार २०८२, मंगलवार १६:१६ प्रकाशित