घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौं।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाएको उनले सामाजिक सञ्जालमाफर्त बताएका छन् ।

‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु ।’

उनले प्रविधिको प्रयोग गरेर आफूलाई फसाइएको समेत दाबी गरेका छन् ।

  • ३१ असार २०८२, मंगलवार ११:२७ प्रकाशित