काठमाडौं।
सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले सोमबार संसद बैठकअघि प्रमुख सचेतक र सचेतकहरूसँग सोमबार छलफल गरेका हुन् ।
त्यसक्रममा सभामुख घिमिरेले प्रतिपक्षमा रहेका केही सांसद्हरुले निरन्तर संसदको नियमित कारबाहीमा भाग नलिएकोमा आफ्नो ध्यानाकर्षण भएको बताए । ‘संसदको नेतृत्वको तर्फबाट व्यक्तिगत रूपमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, सभामुखले भने, ‘मलाई लाग्छ अनन्तकालसम्म संसद् अवरोध हुनु समाधान होइन, अझ संसदको चौथो र पाँचौँ राजनीतिक शक्ति नियमित छलफलमा सहभागी नहुनु दुखद छ ।’
सभामुखले सरकार र सत्तापक्षमा रहेका राजनीतिक शक्तिसहित प्रमुख प्रतिपक्षी दललाई संसदको नियमित छलफलमा सहभागी नभएका राजनीतिक दलहरूलाई पुन एक पटक वार्ता र संवादमा बस्न अपिल गरे ।
‘आवश्यक व्यवस्थापन तथा सहजीकरणको लागि सभामुखको तर्फबाट मेरो पहलकदमी रहनेछ’, सभामुखले भने, ‘संसद्लाई विरोधको थलो होइन, समाधानको मञ्च बनाउन सम्पूर्ण माननीयज्यूहरूसँग सहयोगको अपिल गर्दछु । आगामी २ साताको बिचमा पुनस् संवादमा बसेर सहमति गरौं ।’














