रसुवागढी बाढीमा बेपत्ता ११ जनाको शव भेटियो, १७ जनाको अवस्था अझै अज्ञात

केन्द्रभाग मिडिया

काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको र १७ जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले आइतवार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यो जानकारी दिएका हुन् ।

उनले भने, ‘अहिलेसम्म ११ वटा शव प्राप्त भएका छन्, कुनै शव पूरा नपाइएर मानव अंग भेटिएका छन् । बेपत्ता १७ जना छ, घाइते एक जना ।’

उनका अनुसार उक्त घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धार २ सय जनाको भएको पनि उनले जानकारी दिए ।

प्राधिकरणका अनुसार बाढीमा परी २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरु बगेको तथ्यांक छ । दुई वटा पुलमा आंशिक क्षति पुगेको छ ।

तीन वटा हाइड्रोमध्ये रसुवागढीमा धेरै क्षति भएको जानकारी उनले दिए ।बाढीले मितेरी पुल बगाएसँगै तत्कालका लागि रसुवा—चीनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

  • २९ असार २०८२, आईतवार १४:२५ प्रकाशित