एमालेले एकताबद्ध गर्न नचाहँदा बामपन्थी आन्दोलन विभाजित : पूर्वप्रधानमन्त्री खनाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेले एकताबद्ध गर्न नचाहँदा वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको बताएका छन् । चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा यस्तो बताएका हुन् । एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको अध्यक्ष बन्न लाग्नु सकारात्मक कुरा भएको उनले धारणा राखे । पूर्वराष्ट्रपति भण्डारीले वामपन्थी एकताको उद्देश्य लिएर एमालेको नेतृत्वमा फर्किन लागेको हो भने त्यो राम्रो कुरा रहेको उनको भनाइ थियो ।

‘अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो । त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हुने हो भने अलि ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको छ ।

अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, यदि विद्या भण्डारीले त्यो कुरा महसुस गरेर वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।’

 

  • २८ असार २०८२, शनिबार १५:२६ प्रकाशित