आज देशभर चिसो : चिसो स्याँठ र बाक्लो कुहिरोका कारण मधेसको जनजीवन प्रभावित

केन्द्रभाग मिडिया

पोखरा ।

हिजो खुलेको मौसम रहेकोमा आज पोखराको आकाश धुम्मिएको छ ।

आज पोखरा सहित देशका अधिकांश भागमा आकाश धुम्मिएको र चिसो बढेको मौसम विभागले जनाएको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।
पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ ।

शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पुर्याएको छ ।जिल्लाको विभिन्न बजारमा बाक्लो कपडा बिक्री बढेको छभने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ ।

चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित हुने डा रवीन्द्र साहले जानकारी दिए ।

  • १६ पुष २०८१, मंगलवार ०९:०९ प्रकाशित