हिउँदयाममा भारतबाट थप ३५० मेगावाट बिजुली आयात गरिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिउँदयाममा बिजुलीको आन्तरिक माग पुर्‍याउन भारतबाट थप ३५० मेगावाट बिजुली आयात गरिने भएको छ । भारतले १३२ केभी प्रसारणलाइनबाट समेत बिजुली आयात गर्न अनुमति दिएकाले अब हिउँदमा एक हजार ४ मेगावाट बिजुली आयात गर्न पाइने भएको हो ।

नेपालले ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनबाट ६ सय मेगावाट, टनकपुरबाट ५४ मेगावाट, कटैया–कुशवा, रक्सौल–परवानीपुर र गण्डक–रामनगर प्रसारण लाइनबाट ३०० मेगावाट र मैनहिया–सम्पतियाबाट ५० मेगावाट गरी कुल एक हजार ४ मेगावाट आयात गर्न पाइनेछ ।

१३२ केभी कटैया (भारत)–कुशवा (नेपाल), रक्सौल–परवानीपुर, र गण्डक (नेपाल)– रामनगर (भारत) प्रसारण लाइनबाट ४५० मेगावाट बिजुली आयातका लागि अनुमति मागेको थियो । तर भारतले ३ सय मेगावाट मात्रै आयात गर्न अनुमति दिएको प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले बताए । १३२ केभी मैनहिया (नेपाल)–सम्पतिया (न्यु नौतनवा, भारत) प्रसारणलाइनबाट १५० मेगावाट बिजुली आयातका लागि आग्रह गरे पनि भारतले ५० मेगावाटको मात्र अनुमति दिएको हो ।

  • १५ पुष २०८१, सोमबार १७:०९ प्रकाशित