बाघको आक्रमणबाट महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

हेटौंडा ।

मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा बाघकै आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ ।

मनहरी- ५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

रूम्बालाई आइतवार साँझ ५ बजेतिर घरनजिकैको खोल्सामा बाघले आक्रमण गरेको जनाइएको छ । बसन्तपुर गाउँ त्रसित बनेको छ ।

मृतक रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो । आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब ५०० मिटरपूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

घटनाबारे प्रहरीलाई राति करिब १० बजे मात्रै खबर भएको घटनास्थलमा अनुसन्धानका लागि खटिएका सापकोटाले बताए ।

  • १५ पुष २०८१, सोमबार १०:५९ प्रकाशित