पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय संसदमा प्रतिनित्व गर्ने प्रदेशका पूर्वमुख्यमन्त्रीहरुले प्रदेशको अधिकारको विषयमा नबोलेको भन्दै आक्रोस पोखेका छन् । आइतबार पत्रकार महासंघ गण्डकी प्रदेशको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै उनले यस्तो आक्रोस पोखेका हुन् ।
मुख्यमन्त्री पाण्डेले हिजो प्रदेशमा मुख्यमन्त्री हुँदा केन्द्र सरकारले अधिकार दिएन भनेर आवाज उठाउनेहरु आज संघीय संसदमा पुगेपछि मौन बस्नु अनौठो विषय भएको उल्लेख गरे । ‘हिजो प्रदेशमा मुख्यमन्त्री रहेकाहरु आज संघीय संसदमा हुनुहुन्छ । उहाँहरु प्रदेशको मुख्यमन्त्री हुँदा खुबै अधिकारको कूरा गर्नुहुन्थ्यो । तर, प्रदेशलाई यो आवश्यकता छ भनेर भन्नुहुन्न । मौन बस्नुहुन्छ । हिजो माग्ने ठाउँमा हुँदा कराउने तर आज दिने ठाउँमा हुँदा चुइक्क नबोल्ने किन ?’ उनले प्रश्न गरे ।
उनले पत्रकार महासंघमा पनि संघीयता नआएको आफूले अनुभव गरेको सुनाए । प्रदेशका समाचारले केन्द्रीय सञ्चार माध्यममा स्थान नपाएको गुनासो गरे । उनले सामाजिक सञ्जाल र मिडिया छुट्टाछुट्टै हुन् भन्ने कुरा बुझाउँदै जानुपर्ने सुझाव दिए । आमसञ्चार विधेयक पारित भई प्रेस रजिस्ट्रार कार्यालय स्थापित भएको र पत्रकारको हकहितका लागि यो कार्यालय लागिपर्ने उनले बताए । पत्रकारको बिमाको रकम बढाउँदै जाने उनको प्रतिवद्धता थियो ।
पत्रकार महासंघ केन्द्रीय सचिव सोनी शर्माले सबैले संघीयताको मर्म अनुसार काम गर्नुपर्ने बताइन् । उनले विरोधका लागि मात्र विरोध नगरौं, सकारात्मक ढंगले कलम चलाउन आग्रह गर्दै महासंघ गण्डकीमा आफूहरुले उठाएका कूरा अब केन्द्रमा रहेर कार्यान्वयनमा जान पहल गर्ने प्रतिवद्धता जनाइन् ।
गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार बिमला भण्डारीले रजिस्ट्रार कार्यालयले आफ्नो कार्यविधि निर्माण अन्त्यतिर ल्याएको जानकारी दिइन् । महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले पत्रकार महासंघको विधान अनुसार काम गर्नुपर्ने सुझाव दिए ।
नवनिर्वाचित अध्यक्ष रमेश पौडेलले मूलधारका मिडिया बचाएर राख्नुपर्नेमा जोड दिँदै पत्रकारितालाई दिगो रूपमा बचाउन नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने धारणा राखे ।
महासंघ गण्डकीका निवर्तमान महासचिवसमेत रहेका अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीले नवनिर्वाचित समितिलाई सफलताको शुभकामना दिँदै श्रमजीवी पत्रकारको हकहितमा सधैँ लागिपर्ने बताए । उनले सञ्चार माध्यमलाई सामाजिक सुरक्षाकोषमा अनिवार्य सहभागि गराइनुपर्नेमा जोड दिए । यसो हुनसके मिडिया सञ्चालक र श्रमजिवी दुबैको हित हुने उनको भनाई थियो ।
सो अबसरमा महासंघको केन्द्रीय सचिवमा निर्वाचित सोनी सहित प्रदेशबाट केन्द्रीय समितिमा निर्वाचित सदस्यहरु र प्रदेश रजिष्ट्रारमा नियुक्त विमला भण्डारीलाई सम्मान गरिएको थियो। महासंघका निवर्तमान उपाध्यक्ष दीपक भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सुशीलबाबु श्रेष्ठ (कैलास) ले गरेका थिए ।
निर्वाचन समितिका संयोजक एवं प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले नवनिर्वाचित अध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । गत २८ मंसिरमा भएको निर्वाचनबाट रमेश पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचन समिति सदस्यमा अधिवक्ता बिबि विष्ट र मनोज घर्तीमगर थिए ।