दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १ सय ७९ जनाको ज्यान गयो, २ जनाको उद्धार

केन्द्रभाग मिडिया

काठमाडौं ।
दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १ सय ८१ जनामध्ये २ महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।

दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ । उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १ सय ८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।

विमान दुर्घटनाको कारण खुलिसकेको छैन । तर विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो । विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । यो विमानस्थल राजधानी सियोलबाट २ सय ८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

  • १४ पुष २०८१, आईतवार ११:५१ प्रकाशित