काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति बनेका डीपी अर्यालले पार्टीमा सक्रियता बढाएका छन् । सहकारी ठगी अभियोग भोगिरहेका रास्वपा सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएसँगै कार्यवाहक सभापति डिपीले पार्टीभित्र सक्रियता बढाएका हुन्।
लामिछानेले पार्टीभित्र सन्तुलन मिलाउन अर्याललाई पार्टी संगठन, अर्का उपसभापति स्वर्णिम वाग्लेलाई संसदीय दलको नेतृत्वमा लैजाने इच्छा व्यक्त गरे पनि संसदमा अर्याल नै हाबी बन्ने देखिएको छ ।
बिहीबार अर्यालले पार्टीका सबै विभाग प्रमुखहरूलाई हालसम्मको प्रगति र आगामी योजनाबारे रिपोर्टिङ मागेका छन् ।
नेताहरूका अनुसार अर्यालले बिहीबार विभाग प्रमुखहरूलाई सन्देश पठाएर यही पुस २५ गते दिउँसो ४ बजेभित्र आफ्नो क्षेत्राधिकार र जिम्मेवारीमा केन्द्रित रहेर रिपोर्टिङ पेस गर्न भनेका छन् । समयसीमा नै तोकेर कार्यवाहक सभापति अर्यालले विभागका प्रमुखहरूसँग हालसम्मको प्रगति र आगामी योजना मागेका हुन् ।