पोखरा ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विभिन्न प्राविधिक समस्याका कारण पोखरा विमानस्थलमा अन्तराष्ट्रिय उडान हुन नसक्ने भन्दै अफवा फैलाउनेहरुको व्यापार अब बन्द भएको बताएको छ । पोखरा अन्तर्राष्ट्रि विमानस्थलबाट सिचुवान एरलाइन्सले आफ्नो पूर्ण क्षमतामा यात्रु बोकेर उडान गरेसंगै अफवा फैलाउने ब्यापार बन्द भएको क्यानले बताएको हो ।
बिहीबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको थियो । त्यसलगत्तै पोखराबाट पर्यटन व्यवसायी र पत्रकारसहितका त्यति नै यात्रु बोकेर जहाज पोखराबाट उडान भरेर त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । यस लगत्तै नाट्टा गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै क्यानका महानिर्देशक प्रदिप अधिकारीले पूर्ण क्षमतामा यात्रु बोकेर उडान भएसंगै अब अनेकढंगले पोखरा विमानस्थलका बारेमा भ्रम फैलाउनेहरुको भ्रम व्यापार बन्द भएको बताए ।
उनले अब पोखरामा धेरैभन्दा धेरै यात्रु भित्र्याउन लाग्नुपर्ने र पोखरा विमानस्थललाई अधिक उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । ‘अहिलेसम्म पोखरा विमानस्थलका बारेमा हुने नहुने विभिन्न हल्ला चलाइए । माटो काटेर धाबनमार्ग होचो बनाइयो भनियो, डाँडाको समस्या आदिइत्यादिका कारण उडान हुन नसक्ने लगायतका हल्ला फैलाइए ।
अब यी सबै हल्ला गर्ने व्यापार बन्द भएको छ । अब पोखरामा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पर्यो । पर्यटक धेरै आएपछि स्वभाविक रुपमा अन्तर्राष्ट्रिय उडान हुन्छ । अब भ्रमका व्यापार रोकिएकाले सबैले साच्चैको व्यापार गर्नतर्फ लागौं’ उनले भने । अधिकारीले सरकारले अरबौँ लगानी गरेर पूर्वाधार तयार गरेकाले विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रले समेत अग्रसरता लिनुपर्ने धारणा राखे।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानहरु हुने प्रसस्त आधार रहेका भन्दै तिनै आधारलाई भरपुर उपयोग गरेर विमानस्थलाई क्षमता अनुरुप सञ्चालन गर्न सबै लाग्नुपर्नेमा जोड दिए । बिहीबार सिचुवान एयरलाइनसले आफ्नो पूर्ण क्षमतामा यात्रु बोकेर पोखराबाट उडेसंगै अब पोखरा विमानस्थलमा टेक्निकल समस्या केही रहेनछ भन्ने प्रष्ट भएको उनले बताए । ‘पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि कुनै प्राविधिक समस्या रहेनछ भन्ने प्रष्ट भयो । अब यसलाई कसरी सञ्चालन गर्ने भनेर सरकार र व्यवसायी सबै लागौं । प्रदेश सरकार पर्यटन मन्त्रालय त्यसका लागि गर्नुपर्ने सबै काम गर्न तयार छ’ उनले भने ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले सरकारले छिमेकी देशहरु तथा खाडी मुलुकहरुमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्ने धारणा राखे ।उनले भने, ‘अन्तर्राष्ट्रिय उडान अहिलेसम्म सञ्चालन नहुँदा विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायी समस्यामा छौँ । ठूलो धनराशी खर्च गरेर बनाएको विमानस्थल व्यावसायिक सञ्चालन हुनुपर्दछ । सरकारले अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नु आवश्यक छ ।’
नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्टस् एसोसिएसन (नाटा) गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र मारमा परेको बताए । उनले प्रर्वद्धनात्मक उडानले पोखरामा ठूला आकारका जहाज उडान र अवतरणमा कुनै पनि समस्या नरहेको स्पष्ट पारेको बताए ।















