स्पष्ट विजनेस प्लान बनाएर दबाब दिए पोखरा विमानस्थल चल्छ : महानिर्देशक अधिकारी

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई. प्रदिप अधिकारीले स्पष्टरुपमा विजनेस प्लान गराएर विमानस्थल चलाउने अधिकार खोज्न पोख्रेलीलाई आग्रह गरेका छन् । नाट्टा गण्डकीले बुधबार साँझ पोखराको टिका रिसोर्टमा आयोजना गरेको पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शीघ्र संचालन सम्बन्धमा आयोजित छलफल कार्यक्रममा वोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमताभन्दा दोब्बर यात्रुलाई थेग्नुपर्दा राम्रो सुविधा दिन नसकिएको तर पोखरा पोखरा विमानस्थल सञ्चालन गर्न नसकिएको उल्लेख गरे । पोखरा र गौतमबुद्ध विमानस्थल राज्यलाई आवश्यक भएर नै निर्माण गरिएको बताएका उनले व्यवस्थित ढंगले व्यबस्थापन गर्न नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भार धेरै भएको तथ्य हेरिनुपर्ने धारणा राखे ।

उनले कुल ग्राहस्थ उत्पादनमा दिएको योगदानका आधारमा विमानस्थल सञ्चालनको माग गर्न पनि पोखरेलीलाई सुझाव दिएका छन् ।पोखरा विमानस्थलका कारण क्यानलाई दायित्व थपिएको भएपनि त्यसलाई थेग्ने क्षमता आफूहरुसंग रहेकाले धैर्यभएर योजना ल्याउन उनले आग्रह गरे । ‘ऋण तिनुपर्ने भार म (क्यान) लाई हो । तर, पनि म भन्छु । यो विमानस्थल आवश्यकताले बनेको हो । आज नभए भोलि सञ्चालनमा आएरै छाड्छ । त्यसैले स्पष्ट विजनेस ल्याउनुहोस् ।’ उनले भने, ‘क्यानले आफ्नो सम्पूर्ण क्षमताले भ्याएसम्म लागि परेकै छ । तपाई पोखरेलीहरुले पनि त्यही अनुरुपको योजना बनाएर अगाडि बढ्नुस् । विमानस्थल चल्छ ।’

नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको ४/४ गरी जम्मा ८ वटा अन्तराष्ट्रिय हवाई उडान गर्ने जहाज भएका कारण पोखरामा चाहेर पनि नियमिति रुपमा अन्तराष्ट्रिय हवाई उडान गर्न नसकेको क्यानले जनाएको छ । पोखराबाट न्यारोवडीको जहाज उडान गर्न सकिने ४/५ घण्टा दूरीमा पर्ने देशहरुबाट हाल पोखरेलीले चार्टर्ड फ्लाईट गर्न महानिर्देशक अधिकारीले सुझाव दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक हंशराज पाण्डेले वायु सेवा निगमहरूलाई विस्वस्त पार्नु चुनौती रहेको बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले देशमा ठूलो आर्थिक भार पर्न थालेकोले नियमित अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने बताए । क्यानका अर्का उप महानिर्देशक देवचन्द्रलाल कर्णले हिमालयन एयरले मार्च देखि पोखरा देखि ल्हासासम्मको हवाई उडान गर्ने जानकारी दिए । चिनको सिचुवान एयरलाइन्सलाई समेत पोखराबाट अन्तराष्ट्रिय उडान गर्न पहल गर्ने उनको भनाई छ ।

नाट्टाका पूर्वअध्यक्ष वासुदेव त्रिपाठीले सबैको रोजाई पोखरा भएकोले यस क्षेत्रमा प्रयाप्त अन्तर्राष्ट्रिय हवाई उडानको लागि यात्रु हुने दाबी गरे । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले दुवई र कतारमा पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडानको सम्भावना भएको दाबी गरे । पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरेलीहरूको धेरै सघर्ष गरेर बिमानस्थल निर्माण भए पनि उद्देश्य अनुसार नभई आन्तरिक उडानमा सिमित भएको भन्दै चिन्ता प्रकट गरे ।

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले यस क्षेत्रमा ८० वटा ट्राभल्स एजेन्सी रहेकोले पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्न अपरिहार्य रहेको बताए । पोखरा विमानस्थल संचालनको दुई बर्षमा ८/९ वटा मात्र चार्टर्ड उडान हुनुले पनि पोखरामा सम्भावना भएको दाबी गर्दै अब नियमित अन्तराष्ट्रिय हवाई उडान हुनुपर्ने नाट्टा गण्डकीका प्रथम उपाध्यक्ष संगिता पौडेलले माग गरिन् । कार्यक्रममा सहभागीहरुले राष्ट्रिय ध्वजाबहाक जहाजबाट पहिला पोखरामा अन्तर्राष्ट्रिय उडान थाल्नुपर्ने बताए ।

 

  • ११ पुष २०८१, बिहीबार ०७:२३ प्रकाशित