काठमाडौँ ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने भएको छ । पुस २० र २१ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
‘सचिवालय बैठक बुधबार ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । सोही बैठकले केन्द्रीय कमिटी बैठकको मिति घोषणासहित र बैठकका एजेन्डा तय गर्छ’, अधिकारीले भने,‘केन्द्रीय समितिको यो नियमित बैठक बस्न लागेको हो ।’
एमालेले पुस २० र २१ गते केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेपनि बैठक बस्ने मिति औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।
एमालेको विधानअनुसार केन्द्रीय समिति बैठक प्रत्येक ६ महिनामा बस्नुपर्ने हुन्छ । यसअघि एमाले केन्द्रीय कमिटी बैठक असारमा बसेको थियो ।
केन्द्रीय कमिटी बैठकमा विशेषगरी पार्टीका नियमित कामकारबाही, सङ्गठन निर्माण र सरकार सञ्चालन लगायतका विषयमा छलफल हुनसक्ने नेताहरूले बताएका छन् ।













