आजदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक आयोजना गरेको यो महोत्सव ९ दिनसम्म चल्ने छ ।

पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखराको आकासमा उड्नेछन् । महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ ।

यो महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खला सहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने छ । महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ ।

महोत्सव अवधिभरि पोखराका स्थानीय सांगीतिक ब्यान्डका साथै दीपक बज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि हुनेछन् ।

कार्यक्रमको ब्रान्ड एम्बेसडरमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।

  • ९ पुष २०८१, मंगलवार ०९:४४ प्रकाशित