सहकारी ठगी प्रकरण

कास्की जिल्ला अदालतमा आरोपीहरुको बयान आज पनि

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरूको बयान मंगलबार पनि जारी रहने भएको छ । कास्की जिल्ला अदालतमा सोमबार छविलाल जोशीको बयान भएकोमा मंगलबार रास्वपा सभापति रवि लामिछानेलगायतको हुने बताइएको छ ।

सोमबार प्रतिवादी लामिछाने, जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकामा जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा जोशीको बयान लिइएको उनले बताए। ‘सोमबार एक जना प्रतिवादीको मात्र बयान लिइएको छ, अन्य प्रतिवादीको बयान आजदेखि सुरु हुन्छ’सूचना अधिकारी अधिकारीले भने, “सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुन्छ ।’

यसअघि आइतबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

  • ९ पुष २०८१, मंगलवार ०९:१० प्रकाशित