काठमाडौँ ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कने भएकी छन् । उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुगेकी हुन् ।
युरोपबाटै त्यहाँ पुगेकी उनले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी थिइन् । उनी आज साँझ स्वदेश फर्कँदै छिन् ।
स्वास्थ्य परीक्षणका लागि नै उनी नयाँ दिल्ली पुगेकाले यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम नरहेको उनको सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार भने उनले भारतको नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गरेकी थिइन् । सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको बताएकी थिइन् ।
मन्त्री डा राणाले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरूसँग थप उडानका लागि आग्रह पनि गरिन् । उनले नेपाल भारत आर्थिक सम्बन्धको विस्तृत चर्चा गर्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई आग्रह पनि गरेकी थिइन् ।