रवि लामिछानेसहित ५ जना विरुद्ध मुद्दा दर्ता, यी कसुरमा अभियोग

केन्द्रभाग मिडिया

पोखरा ।

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । उनी विरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगीको आरोपसहित ३ वटा कसुरमा मुद्दा दर्ता भएको हो ।

लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी शर्माले बताउन । उनका अनुसार लामिछाने विरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको हो ।

पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनबाट ९२ औँ दिनमा सरकारले लामिछाने र जोशी सहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागी मात्र प्रतिवादी कायम गरिएको छ ।

प्रहरीले ५१ जनालाई प्रतिवादी कायम गर्न सरकारी वकिललाई राय दिएको थियो । लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदावी लिनुपर्ने राय दिएको थियो । तर, सरकारी वकिलले प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ ।

सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको छ । सहकारी ठगी गर्नका लागि संगठित रुपमा काम गरेको आरोपमा लामिछाने लगायतका आरोपितहरुमाथि संगठित आरोपमा समेत मुद्दा दायर भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा।लि।मा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो । गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जना विरुद्ध पुरक अभियोगपत्र दर्ता भएको थियो । १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुद्दा दायर भएको थियो ।

जिल्ला सहकारी वकिलको कार्यालय, कास्कीकी प्रमुख कमला काफ्लेले आरोपितहरुमाथि करिव १ अर्ब ५१ करोड रुपैयाँ विगो मागदावी भएको बताइन् । उनका अनुसार, एउटा समूहले योजनावद्ध रुपमा सहकारी ठगी गरेको भेटिएकाले सहकारी ठगी, त्यसमा संगठित अपराधको कसुरको अभियोग लगाइएको छ ।

एक अर्ब ५१ करोड रुपैयाँ विगो मागदावी भएपनि सबै रकमको दायित्व रवि लामिछानेसँग जोडिएको छैन । उनको नाममा प्रवाह भएको ऋण र गोर्खा मिडियामा भएको लगानीमा मात्रै उनी जोडिएकाले उनीमाथिको आरोप त्यसमै सीमित भएको एक प्रहरी अधिकृतले बताए ।

सूर्यदर्शन सहकारीको ठगीको आरोपमा प्रहरीले १८ असोज, २०८० मा जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो, जसमा उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याल लगायतहरु थुनामा छन् । उनीहरुमाथि करिव एक अर्ब ११ करोड रुपैयाँ विगो मागदावी थियो ।

उनीहरुमाथि संगठित अपराध गरेको अनि आर्जित रकम शुद्धीकरण गरेको अभियोगमा शुक्रबार मुद्दा दायर भइसकेको छ । मुद्दाको सुनुवाइ गर्दा अब जिल्ला अदालतले फेरि उनीहरुको पनि बयान लिनेछ ।

  • ७ पुष २०८१, आईतवार १३:१९ प्रकाशित