पोखरा ।
देशकै पर्यटकीय राजधानी पोखरामा हुने बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था पोखरा पर्यटन परिषद र बेलुन नेपाल प्रालिको संयुक्त आयोजनामा यही ९ पुसदेखि १७ पुससम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको शनिबार पोखरामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो । महोत्सवमा १५ देशका १७ वटा हर्ट एयर बेलुन एकसाथ उड्ने छन् ।
बेलुन नेपाल प्रालिका अध्यक्ष बिक्रम बाडेका अनुसार शुक्रबारसम्म १० देशका बेलुन पाइलटहरु पोखरा आइसकेका छन् भने बाँकी केही देशका पाइलटहरु आइतबासम्म आईपुग्ने छन् । साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा नेपालसहित अमेरिका, बेलायत, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम, फ्रान्स, नेदरल्याण्ड, कोरिया, जापान, मलेसिया, इटली, ब्राजिल, अष्ट्रेलियन देशका बेलुन सहित बेलुन पाइलटहरुको सहभागि हुने अध्यक्ष बाडेले जानकारी दिए ।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको उक्त महोत्सवको स्थानिय संयोजकको रुपमा फेवा क्लब रहेको छ भने महोत्सव पोखरा २३ र २४ मा पर्ने फेवाफाँटमा हुने भएको छ । क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको महोत्सवमा नेपालका चर्चीत राष्टिय देखि स्थानिय कलाकारको प्रस्तुती हुने भएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
महोत्सव अवधिभर बिहान ६ बजे देखि ९ बजेसम्म र साँझ ४ बजे देखि ६ बजेसम्म विभिन्न देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटहरूले हट एयर बेलुनको उडान गर्नेछन् भने राति ७ बजे देखि ८ बजेसम्म बेलुन नाईट ग्लो गरिने प्रतियोगिताका संयोजक सविन मर्हजनले जानकारी दिए । उक्त महोत्सवमा डिहिकोपाटनवाट निशुल्क सटल बसको व्यबस्था गरिएको उनले बताए ।
महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेल समेत हुने छन् । महोत्सवमा राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कबिता नेपाली, काटुन क्रुज, बेली नृत्य लगायत थप स्थानीय कलाकार र व्यान्डले सांगीतिक प्रस्तुति दिने पोखरा पर्यटन परिषदका अध्यक्ष पहारीले जानकारी दिए ।
उनका अनुसार महोत्सवको विशेष आकर्षणको रुपमा सूर्योदय र सूर्यास्त बेलुन उडानः पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँहरूको सुन्दर दृश्य, नाइट बेलुन ग्लोः बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै, आगो खेल, क्रिसमस इभ, काठमाण्डौंको कुमारी नृत्य र वर्ज योगीनी लगायतका कार्यकम प्रस्तुत हुनेछन् ।
महोत्सव अबधि २४ डिसेम्बर देखि २६ डिसेम्बरसम्म विभिन्न व्याण्डसहितको प्रस्तुती रहनेछ भने महोत्सवमा २७ डिसेम्बर देखि ३१ डिसेम्बरसम्म बेलुन उडान तथा विभिन्न सास्कृतिक कार्यक्रम हुने जानकारी दिइएको छ । अंग्रजी नयाँ वर्ष २०२५ को १ जनवरीमा सांगितीक कार्यक्रम प्रस्तुती सहित कार्यक्रम समापन हुनेछ । साथै महोत्सवमा विभिन्न खानाका परिकार सहितका अन्य केही स्टलहरु समेत रहने छन् ।
बिवाईडीको मुख्यप्रायोजनमा हुने महोत्वसव सफल पार्न पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, उघोग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार प्रबर्द्धक छन । क्रिजम्याटिक ईन्टरटेन्मेन्ट महोत्सबको प्रमुख ईभेन्ट व्यवस्थापकको रुपमा छ भने परिचय एड्भरटाइजिङ, द क्लिप्स, वर्ल्ड लिंक, यति एयरलाइन्स, साग्रिला फेट कुरियर र हस्पिटल पार्टनरमा चरक मेमोरियल हस्पिटल, यातायात पार्टनरमा नेपाल पर्यटक यातायात व्यवसायी सधं गण्डकी प्रदेश, गिता एभिएसन, सालिको ईन्स्युरेन्स, एअर डाईनाष्टिक, कुमारी बैंक, पठाओ, गल्ली म्याप, खल्ती, पोखरा अल्ट्रालाईट लगायतका संघ संस्थाको सहयोग छ ।
उद्घाटनको अवसरमा ९ पुसमा पोखराको भकुण्डेदेखि विभिन्न जनजातिको भेषभुषा सहितको झाँकी समेत प्रर्दशन हुने पोखरा पर्यटन परिषदका महासचिव जीवनराम सापकोटाले जानकारी दिए ।