काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ । मौसमविद् सञ्जिव अधिकारीले तीन महिनाको हावापानीबारे जानकारी दिदै यो वर्ष अघिल्लो वर्षभन्दा धेरै चिसो नहुने पूर्वानुमान गरिएको बताए ।
मौसमविद् अधिकारीका अनुसार यो हिउँदमा सरदरभन्दा चिसो कम हुने अनुमान गरिएको र तीन महिनाको समग्र हावापानी औसतभन्दा अलिकति कम चिसो हुने पूर्वानुमान छ । हाल जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौं उपत्यकामा पुस ४ गतेसम्म न्युनतम तापक्रम दुई डिग्री सेल्सियसम्म मात्र पुगेको छ ।
आगामी तीन दिनमा ठूलो मौसमी परिवर्तन हुने सम्भावना नदेखिएको बताउदै अधिकारीले शुक्रबार छिटफुट हिमपातको सम्भावना रहेपनि मौसममा ठूलो किसिमको परिवर्तन नहुने बताए ।
हिउँदयाममा धेरै हिउँ पर्नुपर्ने भए पनि यो वर्ष पश्चिमी वायुको प्रभाव बढी हुँदा चिसो कम हुने देखिएको अधिकारीले बताए ।














