काठमाडौँ ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेस गर्नको लागि आवश्यक गृहकार्य जुट्न निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले संसद्को हिउँदे अधिवेशनभित्र संसदमा विधेयक पेस गर्नेगरी गृहकार्यमा जुट्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।
समिति सभापति कमला पन्तले सरकारलाई निर्देशन दिँदै विधेयक निर्माणका लागि समितिले आवश्यक सहयोग गर्ने बताइन् । उनले समिति दलित समुदायको अधिकारसम्बन्धी विधेयक निर्माणका लागि आवश्यक गृहकार्य गरिरहेको र उक्त गृहकार्यलाई प्रतिवेदनको रूपमा बुझाउने बताइन् ।
उनले ऐन निर्माण गर्ने निकाय संसदीय समिति नभएको समेत स्पष्ट पारिन्। दलित समुदायहरूमाथि राजनीति भइरहेको भन्दै उनले राजनीतिले आँखा नचिम्लिने गरी ऐन बनाउन जरुरी रहेको बताइन् ।














