पोखरा ।
सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको कोठाभित्र सुतिरहेको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।
कास्की प्रहरीले आज एक विज्ञप्ति जारी गर्दै साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा रविको हिरासत भित्रको तस्विर सार्वजनिक गर्ने जो कोही भएपनि कानुन अनुसार कारबाही गर्ने बताएको छ ।
‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने,’ प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बसन्तकुमार शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
अचानक रविको हिरासतभित्रको कोठामा सुतिरहेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सर्वत्र सो फोटोको बारेमा आलोचना तथा विभिन्न टिकाटिप्पणी भएको थियो भने हिरासत भित्रको तस्वीर कसरी सार्वजनिक भयो भनेर कास्की प्रहरीमाथि प्रश्न समेत उठेको छ ।
सुरुमा सार्वजनिक भएको तस्वीर रविकै हो कि होइन भन्ने अन्योलता भएको थियो पछि केन्द्रिय प्रहरीले नै पुष्टि गरेपछि गृहमन्त्री रमेश लेखकले सो तस्वीर सार्वजनिक भएको प्रति ध्यानाकर्षण भएको भन्दै तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गर्न निर्देशन दिएका थिए ।
रवि कास्की प्रहरी हिरासत कक्षमा सुतिरहेको अवस्थाको अस्पष्ट देखिने तस्विर रास्वपाकै समर्थक डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको थियो । सो तस्वीर आफुले नै खिचेको भुसालले स्वीकार गरेका छन् ।















