घलेलमा २६ औं ल्होछार उत्सव : भलिबल प्रतियोगिताको उपाधि राशी ६५ हजार

केन्द्रभाग मिडिया

पोखरा ।

तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८-९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।

बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २१ गतेसम्म २६ औं संस्करणको ल्होछार उत्सव आयोजना गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।

उनका अनुसार घलेल ल्होछार उत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, प्रौढ भलिबल, ठेलो, रस्साकस्सी, सामुहिक नृत्य, घोडा दौड लगायतका प्रतियोगिता समावेश गरिएको छ ।

अध्यक्ष गुरुङले गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।

सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी सर्वोत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

उनका अनुसार गाउँस्तरीय पुरुष भलिबल प्रतियोगितामा सहभागि जनाउन ५ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । टिम दर्ता गर्न शुल्क २५ सय रुपैयाँ तोकिएको खेल संयोजक गणेश बिसीले जानकारी दिए ।

उनका अनुसार प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका ९सानो०सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने, सहभागी हुन एक समुहलाई ३ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।

यस्तै घोडा दौड प्रतियोगिताको विजेताले नगद ४० हजार र उपविजेताले २० हजार, सान्त्वना स्थान हाँसिल गर्नेले १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागी हुन ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ ।

खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।यस्तै ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला कुर्ची दौड प्रतियोगिता र घैटो फुटाउने प्रतियोगिताको विजेता र उपविजेताले आर्कषक पुरस्कार प्राप्त गर्नेछन् ।

मेलामा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक नृत्य, लोक तथा दोहोरी कलाकारहरुले विशेष प्रस्तुती दिने आयोजकले जनाएको छ ।

  • ३ पुष २०८१, बुधबार १७:०० प्रकाशित