बन्दीपुर भ्रमण वर्षको प्रचार प्रसार सुरु

केन्द्रभाग मिडिया

दमौली ।

तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो ।

गाउँपालिकाको नेतृत्वमा काठमाडौँमा विभिन्न सङ्घसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द थापाले बताए। पालिकाका अध्यक्ष थापाको नेतृत्वमा उपाध्यक्ष पञ्चमाया गुरुङ, पर्यटन शाखा प्रमुख सुरज भट्टराई, बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैश गुरुङ, राजु बानियाँलगायत प्रतिनिधिको टोली काठमाडौँ पुगेको उनले उल्लेख गरे ।

काठमाडौँमा विभिन्न तहका व्यक्ति, सङ्घसंस्थाका प्रतिनिधिलगायत व्यत्तिसँग अन्तरक्रिया गर्नुका साथै भ्रमण वर्षको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न सहयोगका लागि अनुरोध गरिएको अध्यक्ष थापाले बताए ।

थापाका अनुसार बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउन उक्त वर्षभरि यहाँ पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत देशका मुख्य सहरहरूमा पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने उनले जानकारी दिए ।

पर्यटनलाई आम्दानीको स्रोत बनाएर स्थानीयको जीवनस्तर उकास्न पनि यो कार्यक्रम प्रभावकारी हुने भन्दै यसमा सबैको सहयोग आवश्यक पर्नेमा अध्यक्ष थापाले जोड दिए ।

गण्डकी प्रदेशको पोखरापछि प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने योजना रहेको थापाको भनाइ छ ।

थापाले गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूमा क्रमशः आउटडोर जिमको विस्तार गरिने तथा पर्यटन क्षेत्रहरूमा रहेका प्राकृतिक शिलाहरूलाई थप आकर्षक बनाइने लक्ष्य राखिएको उल्लेख गरे ।

अध्यक्ष थापाले पालिकाले बन्दीपुर आउने विदेशी पर्यटकको सहजताका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिने उद्देश्यले नौ भाषामा जानकारीमूलक सामग्री तयार गरिसकिएको बताए । गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाइ भाषामा बन्दीपुरका बारेमा जानकारीमूलक सामग्री तयार गरिएको  जानकारी दिए ।

खड्गदेवी, थानीमाई र महालक्ष्मी मन्दिर, सिद्धगुफा, मणिमुकुन्द सेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्विटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस, अर्जेन्टिनालगायत मुलुकबाट पर्यटक आउने गरेका बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणको केन्द्रबिन्दु रहेका उनले बताए।

सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किमी उकालो यात्रा हिडेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरालगायत प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृङ्खला देखिने भएकाले यहाँ बाह्य पर्यटक आउने गरेका समितिका अध्यक्ष प्रधानले उल्लेख गरे । रासस

  • २ पुष २०८१, मंगलवार १०:३६ प्रकाशित