काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत लगिने भएको छ । पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार नै सकिएकोले आज उनलाई अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अभियोजन नगर्दासम्म उनलाई हिरासतमा राख्नुपर्ने भएकोले आज म्याद थपको लागि अदालतमा उपस्थित गराइने भएको हो । आज उनलाई ४ दिन हिरासतमा राख्न अदालतमा अनुमति माग गरिने अनुसन्धानमा संलग्न एकअधिकृतले बताएको जनाइएको छ । यद्यपि कास्की प्रहरीले रविमाथिको अनुसन्धान सकिएको बताउँदै हिजै रविविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।
उनीविरुद्ध पुस ५ मा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गर्नेगरी सरकारी वकिल कार्यालयले तयारी गरिरहेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुनाले पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको मितिले पुस ५ मा ९० दिन पुग्छ । लामिछानेलाई जोशी पक्राउ परेकै मितिबाट म्याद मिलान गरिएको छ ।













