काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन, काडमाडौंमा शोक बिदा

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा गएराति १ बजे निधन भएको हो ।

२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।८८ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो ।

उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए ।

उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।

सिंहको निधनको शोकमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ ।काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज शोक बिदा दिइएको हो ।

  • १ पुष २०८१, सोमबार ०९:५७ प्रकाशित