पोखरा ।
गण्डकी बहुप्राधिक शिक्षालयमा नयाँ भर्ना भई आएका विद्यार्थीहरूलाई आइतबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख एवं शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष धनराज आचार्यको विशेष उपस्थितिमा नव आगन्तुक विद्यार्थीहरूलाई शिक्षालयमा स्वागत गरिएको हो ।
प्राविधिक शिक्षाको आवश्यकतालाई मध्यनजर गरी महानगरद्वारा सञ्चालन गरिएको शिक्षालयमा डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन फार्मेसीका कक्षाहरू सञ्चालनमा छन् । यस्तै प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रि–डिप्लोमा औद्योगिक प्रशिक्षार्थी कार्यक्रम, बाल विकास सहजकर्ता, पूर्व सिकाइको मान्यताको सीप परीक्षण, टायल तथा मार्बल फिक्सरका सीप परीक्षण, बिल्डीङ् कन्स्ट्रक्सन, बिल्डीङ् पेन्टर सीप परीक्षण र विद्यालय तहमा आधारभूत प्राविधिक शिक्षा एव सीप हस्तान्तरणको लागि छोटो अवधिका पाठ्यक्रमहरू समेत लागु गरिएको छ ।
शिक्षालयमा हाल ४०२ विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् । डिप्लोमा इन अटोमोवाईलका उजेन उदासले ९३.७५ प्रतिशत अङ्क सहित देशभरबाट उत्कृष्ट नतिजा हासिल गरेका छन् । छोटो अवधिको तालिम पश्चात् ५० प्रतिशत भन्दा बढी विद्यार्थी व्यावसायिक क्षेत्रमा आबद्ध भएका छन् । राष्ट्रिय सीप परीक्षण केन्द्रको परीक्षामा कुल सहभागिताको ९० प्रतिशत प्रशिक्षार्थी उत्तीर्ण भएका छन् ।
समुदाय स्तरमा ज्ञान तथा सीप विकास, रोजगारी सृजना, आर्थिक सशक्तीकरण, उद्यमशीलता, नवप्रवर्तन सहित प्रतिस्पर्धात्मकता जनशक्ति उत्पादनमा सकारात्मक प्रभाव बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालनमा जोड दिइएको नगर प्रमुख आचार्यले बताए । उनका अनुसार आगामी वर्षदेखि डिप्लोमा इन नर्सिङ विषयको कक्षा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल समेत गठन गरिएको छ ।
शिक्षालयबाट डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङका ८८ जना विद्यार्थीहरू पास आउट भइसकेका छन् । शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिना अनुसार उनीहरूलाई पनि शिक्षालयले बिदाइ गरेको छ । सो अवसरमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको छ ।