नयाँ दिल्ली ।
दिल्ली सरकारले महिलालाई मासिक एक हजार भारु दिने भएको छ । यसलाई महिला सम्मान योजना नाम दिइएको छ । १८ वर्ष उमेर पूरा गरेका प्रत्येक महिला यस योजनाको दायरामा आउनेछन् ।
दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले बिहीबार यो योजनाको घोषणा गरेका हुन् । उनले यस योजनाका लागि आजैदेखि दर्ता सुरु हुने बताए । केजरीवालले चुनावपछि महिलालाई दिइने रकमलाई बढाएर प्रतिमहिना २१ सय रुपैयाँ पुर्याउने पनि बताए ।
त्यस्तै अटो चालककी छोरीको विवाहका लागि १ लाख रुपैयाँ दिइनेछ । अटो चालकका छोराछोरीलाई कोचिङको लागि पैसा दिइनेछ ।होली र दीपावलीमा बनाएको पोशाक लिन साढे दुई हजार रुपैयाँ दिइनेछ । त्यस्तै १० लाख रुपैयाँको जीवन बीमा र ५ लाख रुपैयाँको दुर्घटना बीमा उपलब्ध गराइनेछ ।