चितवन ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आफ्ना गलत गतिविधि नसच्याए सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
चितवनको भरतपुरमा मंगलबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा गएको भन्दै प्रचण्डले त्यो नरोकिए संसदको विशेष अधिवेशन बोलाउने र लाखौँ जनता सडकमा ल्याएर सदन र सडकबाट आन्दोलन अघि बढाउने चेतावनी दिए ।
राम्रो बन्दै गरेको विद्युत् प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेकाले यस्ता हर्कत स्वीकार्य नहुने प्रचण्डको भनाइ छ ।
आफूले प्रधानमन्त्री हुँदा रुग्ण उद्योगहरू सञ्चालनको तयारी गरेको तर अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको पनि प्रचण्डको आरोप छ ।
फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले देशभरका हजारौँ सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरूको बाहुल्यता भए पनि उनीहरूलाई बचाउन केन्द्रित रहेको बताए ।
आफ्नाहरूलाई जोगाउँदै सारा ठगी नै रवि लामिछानेले गरेकोझैँ गरी प्रतिशोधपूर्ण व्यवहार गरेको प्रचण्डको भनाइ छ ।