पुुष १३ देखि १७ सम्म पोखराको लेकसाइडमा सडक महोत्सव

केन्द्रभाग मिडिया

पोखरा ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेकसाइडमा आगामी पुषको १३ देखि १७ गते सम्म २६ औं संस्करणको सडक महोत्सव हुने भएको छ । महोत्सव आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले २६ औं संस्करण सडक महोत्सवको तयारी थालेको हो । सोमबार आयोजित पत्रकार सम्मेलनमा अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड क्षेत्रमा २५ वर्षदेखि हुदै आएको महोत्सवलाई रेवानले यसपटक पनि निरन्तरता दिएको महोत्सव संयोेजक विकास भट्टराईले जानकारी दिए ।

‘सडक मै खाउ, सडकमै नाचौं, सडक मै रमाउँ’ भन्ने नारासाथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल’ को रुपमा प्रवद्र्धन गर्दै आएको आयोजकले जनाएको छ । लेकसाइडको करिव ३ किलोमिटर क्षेत्रमा महोत्सव हुनेछ । परिवर्तित समयसँगै महोत्सवलाई पृथक र थप आर्कषक कसरी बनाउन सकिन्छ भनेर विभिन्न सरोकारवालाहरुको सल्लाह सुझावहरु पनि ग्रहण गरिरहेको रेवानले जनाएको छ ।

कला संस्कृति प्रवद्र्धन गर्न, स्थानीय स्तरमा उत्पादित सामग्रीलाई वजार, प्रचार प्रसार, व्यापार वढाउन, ब्राण्डिङ गर्न तथा अवलोकन गराउने एउटै थलो पोखरा सडक महोत्सव भएको आयोजकको दावी छ । यसले पर्यटक आकर्षण गर्न होस् वा लोपोन्मुख सामग्रीलाई संरक्षण गर्न प्लेटफर्म पनि दिदै आएको रेवानको भनाइ छ । सडक महोत्सव स्थानिय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम वनेको पनि उसको दावी छ ।

महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता रहेको छ । यस्तै सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानिय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृर्षि, वनस्पती लगायतका कृर्षि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने जनाइएको छ ।

पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्टी प्रर्दशनका साथै पर्यटकिय गन्तब्यको प्रवद्र्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडी ल्याई सजावटका साथ व्यवसाय प्रवद्र्धन गरिने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए ।

  • २४ मंसिर २०८१, सोमबार २२:२५ प्रकाशित