काठमाडौं ।
विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । रूसी सरकारी समाचार एजेन्सीहरूले बसर अल असद परिवारसहित मस्को आएको जनाएका हुन् ।
मिडिया रिपोर्टका अनुसार सिरियाका राष्ट्रपति असदलाई रूसले शरण दिएको छ । असद र उनको परिवारका सदस्यलाई ‘मानवीय दृष्टिकोण’का आधारमा रूसले शरण प्रदान गरेको स्रोतलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।
बीबीसीले भने असद मस्कोमा रहेको रिपोर्टहरू सार्वजनिक भइरहे पनि आफूहरूले त्यसलाई पुष्टि गर्न नसकेको जनाएको छ । विद्रोही समूह हयात तहरिर अल शाम (एचटीएएस) आइतबार देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए ।
तर उनी परिवारसहित कहाँ गए भन्ने खुलेको थिएन । कतिपयले असद चढेको प्लेन दुर्घटना भएको अफवाह फैलाएका थिए । बसर अल असद २४ वर्षदेखि सिरियाको सत्तामा थिए । असद परिवारको शासन भने ५० वर्षसम्म चलेको थियो ।
सिरियामा सन् २०११ मा राष्ट्रपति असद विरुद्ध सुरु भएको शान्तिपूर्ण र लोकतन्त्र समर्थित एक विद्रोह गृहयुद्धमा परिणत भएको थियोे । यो लडाइँमा पाँच लाख भन्दा बढीको मृत्यु भइसकेको छ । एक करोड २० लाखभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । तीमध्ये करिब ५० लाख जना शरणार्थी बनेका छन् ।