नुवाकोट ।
नुवाकोटको किस्पाङमा आमासहित दुई नाबालक सन्तानहरू एकै ठाउँमा डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
किस्पाङ गाउँपालिका वडा नं. १ भाल्चे गाउँको नुचेतमा २३ वर्षिय चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा पाइएको हो ।
आज बिहान ९ बजेको समयमा भएको उक्त घटनाको थप अनुसन्धानका लागि तत्कालै जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा डिएसपी तिलक भारतीसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । डिएसपी भारतीका अनुसार घटना शंकास्पद, कारुणिक र गम्भीर प्रकृतिको भएकोले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
स्थानीयका अनुसार चन्दीमायाका श्रीमान् रेस घले बिहान घरभन्दा केही माथी बारीमा केराउ टिप्न गएको समयमा उक्त घटना भएको र घरबाट निस्कनुअघि उनको श्रीमतीसँग सामान्य भनाभन भएको थियो । तर, घटना हुनुको वास्तविक कारण भने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।