सहकारी ठगी प्रकरणमा विद्यार्थी नेता दीपेश पुनकी श्रीमती सविना आले ३ महिनादेखि फरार

केन्द्रभाग मिडिया

काठमाडौं ।

सहकारी ठगी प्रकरणमा विद्यार्थी नेता दीपेश पुनकी श्रीमती सविना आले मगर विगत तीन महिनादेखि फरार छिन । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएपछि नेकपा (माओवादी केन्द्र) का नेता दीपेश पुनकी श्रीमती सविना आले मगर विगत तीन महिनादेखि फरार भएकी हुन ।

सविना विरुद्ध २ भदौमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले दोस्रो लटमा आलेमगर विरुद्ध पक्राउ पुर्जी जारी भएको बतायो । त्यसयता उनी अहिलेसम्म पक्राउ परेकी छैनन् ।

स्वर्णलक्ष्मी सहकारी ठगीबारे प्रहरी वृत्त कालिमाटीमा उजुरी गरेको थियो । त्यसपछि प्रहरी वृत्त कालिमाटीकै अनुरोधमा सञ्चालकसहितका व्यक्तिहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यतिबेला भने आलेमगरविरुद्ध पक्राउ पुर्जी जारी भएको थिएन । त्यसपछिको यो सहकारीको विस्तृत अनुसन्धान गर्ने भन्दै फाइल जिल्ला प्रहरी परिसर काठमाडौं ल्याएर अनुसन्धान सुरु गरिएको थियो ।

सो क्रममा आलेमगरका साथै सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालसहित व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । आलेमगर स्वर्णलक्ष्मी सहकारीको लेखा समिति सदस्य हुन् । त्यसपछि तेस्रो लटमा २ मंसिरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यो सहकारीमा तीन लटमा गरेर २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौँ प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीसहित २४ जनाविरुद्ध अनुसन्धान गरिरहेको छ । दीपेश पुनः पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

  • २३ मंसिर २०८१, आईतवार १२:३२ प्रकाशित