पोखरा ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बेरोजगार नागरिकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रहेको बताएका छन् । शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमको दुई दिवसीय वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले बेरोजगारी समस्यालाई समाधान गर्न र जीवनस्तर सुधार्न उक्त कार्यक्रम सफल भएको उल्लेख गरे ।
मन्त्री थापाले गण्डकी प्रदेशमा पनि सीमान्तकृत समुदाय, महिला र युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उल्लेखिय काम भएको बताए । “गण्डकी प्रदेशमा हामीले यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि विभिन्न प्रयासहरू गरिरहेका छौं”, उनले भने, “हामीले रोजगारका अवसरहरू सिर्जना गर्न मात्र होइन स्थानीय स्तरमा सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र खेलकुद गतिविधिहरू मार्फत युवालाई सशक्त बनाउन पनि काम गरिरहेका छौं।”
मन्त्री थापाले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनमा बजेट अभाव र संरचनागत समस्या भएकाले चुनौति थपिएको बताए । ग्रामीण क्षेत्रका जनतालाई रोजगारीका अवसर उपलब्ध गराउन समन्वयको खाँचो भएको भनाई उनको छ । स्थानीय, प्रदेश र संघ सरकारले समन्वयात्मक तवरले उक्त कार्यक्रमलाई अगाडि बढाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । “संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच अझ राम्रो समन्वय आवश्यक छ । साथै निजी क्षेत्र र अन्य साझेदारहरूको सहभागिताले उक्त कार्यक्रमलाई अझ सुदृढ बनाउन सकिन्छ ।”, उनले भने ।
गण्डकी प्रदेश सरकार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सामाजिक सुरक्षाको प्रत्याभूति दिन, आर्थिक अवसरहरू सिर्जना गर्न र दीर्घकालीन विकासका आधारहरू तयार गर्न प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकीका प्रमुख सचिव रघुराम विष्टले नेपालको संविधानले नै रोजगारी हकको ग्यारेण्टी गरेकाले यसको आवश्यकता र औचित्यलाई मध्यनजर गर्दै अगाडि बढनुपर्ने बताए । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्न सके मात्र सफलता मिल्ने बताए । वैदेशिक रोजगारीका क्रममा देखिएका ठगीका विषयलाई व्यवस्थापन गर्न कार्यगत एकताको खाँचो रहेको भनाई उनको छ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईले रोजगारसँग जोडिएको विषयमा सरकार संवेदनशील हुन आवश्यक रहेको र महानगर समेत त्यसै अनुरुप लागिरहेको बताए ।
बरेङ गाउँपालिकाका रोजगार संयोजक केशव राज क्षेत्रीले प्रधानमन्त्री रोजगार कार्यक्रम राम्रो र विपन्न सँग जोड्ने कार्यक्रम भएको अनुभव सुनाए । कार्यक्रम निर्देशक प्रदीप कुमार कोइरालाले गण्डकीमा हुने दुई दिने समीक्षा कार्यक्रममा गण्डकीका ११ जिल्लाका ८५ वटै पालिकाका रोजगार संयोजकहरुको उपस्थिति रहेको जानकारी गराए । उक्त कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताका विषयमा गहन छलफल हुने भनाई उनको छ ।