चितवनमा बयान सकेपछि राति नै पोखरा ल्याइयो रविलाई

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवनमा बयान सकिएपछि रातारात पोखरा ल्याइएको छ । सहारा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बयान गराएर राति नै पोखरा ल्याएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

उनका अनुसार रविलाई राति करिव ३ः०० बजे पोखरा ल्याइएको हो । ‘चितवनमा बयान सकिएपछि उहाँ (रवि लामिछाने) लाई पोखरा ल्याएका छौं । त्यस्तै राति करिव ३ बजे पोखरा ल्याइ पुर्याएका हौं’ उनले भने ।

पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट समेत पक्राउ पुर्जी जारी भएको छ ।

जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् ।

बुधबार दिउँसो लामिछाने बयान चलिरहँदा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको थियो । स्रोतका अनुसार आज पनि प्रदर्शन हुनसक्ने भएकाले लामिछानेलाई राति नै पोखरा ल्याइएको हो ।

 

 

  • २० मंसिर २०८१, बिहीबार ०७:४९ प्रकाशित