२५ औं आदर्श कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टिकट किन्दा एनसेलको सिम फ्रि

केन्द्रभाग मिडिया

पोखरा ।

२५ औं आदर्श कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको युवा आदर्श युवा क्लबले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

यहि मंसिर २२ गतेदेखि २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिक, सैनिकबस्ती स्थित लेखनाथ रंगशालामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको प्रतियोगिता संयोजक ओम प्रकाश गुरुङले जानकारी दिए ।

संयोजक गुरुङको अनुसार प्रतियोगितामा गण्डकी प्रदेश भित्रका ३ विभागीय टिमसहित ८ टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ४ लाख २५ लाख ५२५ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितीय हुने टिमले २ लाख २५ हजार ५२५ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

साथै विद्यागत रुपमा प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई २५ हजार नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरिने भएको छ ।
यस्तै उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट कोचलाई पनि नगद १५ हजार सहित ट्रफी र प्रमाण पत्रसहित सम्मान गरिने भएको छ ।

प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई नगद ५ हजार र ट्रफीको व्यवस्था गरिएको आयोजकले बतायो ।यस्तै प्रतियोगिताको अनुशासित टोलीलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिने भएको छ ।

प्रतियोगिताको सेमिफाइनल सम्मको खेल हेर्नका लागि १०० रुपैयाँ र फाइनल खेल हेर्नका लागि १५० रुपैयाँ टिकट शुल्क तोकिएको संयोजक गुरुङले बताए ।

नेपाल सरकारले तोकेको सामाजिक सुरक्षा भत्ता लिने दर्शकलाई, सुरक्षाकर्मीहरुलाई, पत्रकारलाई र निजामती कर्मचारी, सरकारी कर्मचारीलाई परिचयपत्रको आधारमा निशुल्क प्रवेशको व्यवस्था गरिएको संयोजक गुरुङले जनाए ।

आयोजकले दर्शकलाई उत्साहित बनाउनका लागि प्रत्येक टिकटमा एनसेल नेटवर्कको एउटा सिम कार्ड निशुल्क प्रदान गर्ने भएको छ । यस्तै प्रत्यके टिकट खरिदमा यार्साटेक प्रा.लिले बिक्री गर्ने सामाग्री खरिद गरेमा दर्शकले ३ सय रुपैयाँ नगद छुट पाउने उनले बताए ।

प्रतियोगिताको माध्इमबाट खेलाडीहरुको स्तर,मनोबल, शारीरिक तथा मानसिक वृद्धि विकास गर्ने उद्देश्यले क्लबले प्रतियोगिता आयोजना गर्दै आएको क्लवका अध्यक्ष पदम गुरुङको भनाई छ।

यस्तै फुटबलको प्रचार प्रसार, खेलकुदको माध्यमबाट खेलाडीहरुबीच भातृत्वको विकास, नयाँ खेलाडीहरुलाई प्रोत्साहन र क्षमता वृद्धिका लागि अवसर सिर्जना, क्षेत्रीय र राष्ट्रिय स्तरमा क्लवको पहिचान गाराउनु र आन्तरिक तथा बाह्रय पर्यटनलाई टेवा दिई खेल पर्यटनको विकास गराउने यस प्रतियोगिताको उद्देश्य रहेको अध्यक्ष गुरुङले बताए ।

पोखरा महानगरपालिका वडा नम्बर २९ को संरक्षण र शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको आयोजकले बतायो ।

प्रतियोगिता सम्पन्न गर्न ५० लाख लागत लाग्ने आयोजकको अनुमान छ ।

  • १९ मंसिर २०८१, बुधबार ११:०१ प्रकाशित