एनपीएल

आज कर्णाली र काठमाडौं अनि विराटनगर र लुम्बिनी भिड्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) दुई खेल हुनेछन् । आजको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज भिड्दै छन् भने, दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्नेछन् ।

पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । एनपीएलमा दोस्रो खेल खेल्न लागेका कर्णाली र काठमाडौँ दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । कर्णाली सोमपाल कामी र काठमाडौँ करण केसीको कप्तानीमा मैदान उत्रन लागेका हुन् ।

कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । शिखर धवन सम्मिलित कर्णालीले पहिलो खेलमा अपेक्षाकृत खेल प्रस्तुत गर्न सकेन। शिखर धवनको खेल हेर्न सयौँ दर्शक मैदानसम्म पुग्ने गरेका छन् ।

यता आफ्नो पहिलो खेलमा काठमाडौँले भने चितवन राइनोजसँग ५ विकेटको हार व्यहोरेको थियो। काठमाडौँका साहव आलमले ३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् । आज एकअर्काविरिुद्ध मैदान उत्रिँदा दुवै टोली पहिलो खेलमा नतिजालाई बिर्सिँदै सुखद सुरुवातको लक्ष्यमा छन् ।

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन् । त्रिवि मैदानमा दिउँसो १ बजे आजको दोस्रो खेल सुरु हुनेछ । एनपीएलमा तेस्रो खेल खेल्न लागेको विराटनगर पहिलो जितको खोजीमा हुनेछ ।

विराटनगरले लिगको पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो । मंगलबार भएको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो हार व्यहोरेको थियो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर तेस्रो खेलमा आएर जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । यता एनपीएलमा पहिलो खेल खेल्न लागेको लुम्बिनीले पहिलो खेलबाट नै सुखद सुरुवातको खोजीमा हुनेछ ।

लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिनेछ ।

  • १९ मंसिर २०८१, बुधबार ०७:४२ प्रकाशित