उपनिर्वाचनको सबै परिणाम सार्वजनिक, को कहाँ विजयी ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको हो ।

ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडाध्यक्षमा पनि माओवादी उम्मेदवार निर्विरोध भएका थिए । तीन ठाउँमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि आइतबार मतदान भएको थियो ।

मतदान भएकामा दुईवटा नगरपालिका प्रमुख र एउटा गाउँपालिका अध्यक्ष पद थिए । त्यस्तै उपाध्यक्ष एवं उपप्रमुख पद ५ वटामा मतदान भएको थियो । ३३ वटा वडाध्यक्ष पनि मतदानबाटै निर्वाचित भएका हुन् ।

४४ स्थानमध्ये नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ । दोस्रो बढी माओवादीले जितेको छ । उसले ११ वटा सिट जितेको छ  । एमालेले ८ स्थानमा जित निकालेको छ ।

यस निर्वाचनमा जसपा नेपालले २ स्थान जितेको छ भने नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एक-एक ठाउँ जितेका छन् । यस निर्वाचनमार्फत रास्वपाले स्थानीय सरकारमा पहिलोपल्ट प्रवेश पाएको छ ।

माओवादीले केही आफ्ना पुराना सिट गुमाए पनि नयाँ ठाउँमा जितेर उल्लेख्य सिट बढाएको छ। कांग्रेसले केही नयाँ ठाउँमा जित हात पारे पनि साविकका उल्लेख्य सिट गुमाएको छ । एमालेले केही वडाध्यक्षका पद गुमाएर प्रमुख र उपप्रमुखको पद जोडेको छ।

यस्तो छ, ४१ स्थानको मतपरिणाम

सोमबार साँझ आएको नतिजाअनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । उनले ५ हजार ३३४ मत ल्याउँदा माओवादीका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाए ।

उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादीको जित भएको छ। त्यहाँ माओवादीका भरत घिमिरेले ५५९ मत ल्याए । एमालेका मोहन खड्का ५२५ मत पाएर पराजित भए ।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना विजयी भएकी छन्। माओवादीकी तिमिल्सिनाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सविता बुढालाई पराजति गरेकी हुन् ।

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उमा मगर शेर्पा विजयी भएकी छिन्। उनले २ हजार ८०५ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रकी निमलेकी शेर्पा २ हजार ६ सय मत ल्याएर पराजित हुन पुगिन् ।

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत पाए ।

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही ३ हजार १२७ मतसहित विजयी भएका छन् । उनको प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६७५ मतमा चित्त बुझाउनुपरेको छ ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने ४ हजार २७२ मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द (सिंह) ले ३ हजार १४७ मत पाए ।

रुकुम ९पूर्व० को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुरा बुढा ३ हजार ६२७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १२८ मत मात्रै पाइन् ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन्। उन १ हजार ७४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले १ हजार ४७४ मत पाइन् ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन ३५३ मतसहित विजयी भएकी छन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरिन् ।

झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले ३ सय ५६ मत पाएका छन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू ४ सय ४० मत प्राप्त गरी विजयी भएका छन्। उनीसँग एमालेका बुद्धबहादुर लिम्बु ३६० मत प्राप्त गरी पराजित भए ।

सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु ८१६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार ७९४ मत प्राप्त गरी पराजित भए ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ ३९९ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल १७७ मत पाएर पराजित भए ।

उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार बान्तवा राई विजयी भए। उनले ९ सय २३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उनीसँग कांग्रेसका भुलियादेवी थरुनी ५८७ मत मात्र प्राप्त गरी पराजित भइन् ।

डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव ३७२ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका जोगीन्द्रराय अमातले २७७ मत पाए ।

धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट ६८४ मतसहित विजयी भए। उनको प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिबुल खाँ ६३१ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी आइतीकुमारी यादवले ५३४ मत प्राप्त गरेका छन् ।

रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित विजयी भएका छन्। एमालेका शेख अनवार ५७५ मत प्राप्त गरी पराजित भए ।

रौतहटकै गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गीप्रसाद यादवले ६५५ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी एमालेका जिउतीदेवी यादवले ६३१ मत पाइन् ।

रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम ७४४ मतसहित विजयी भएका छन्। माओवादीका जिकरलाह ४६३ मत पाएर पराजित भए ।

नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे १ हजार ८५ मत प्राप्त गरी विजयी भए। कांग्रेसका सूर्य तामाङले ५८७ मत प्राप्त गरे ।

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले २ हजार ९०२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरी पराजित भए ।

काठमाडौँको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाए ।

कीर्तिपुरकै वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले ४९५ मत पाइन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी २ हजार ६३ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान १ हजार ५६० मतसहित पराजित भए ।

गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर ४८६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी भाइकाजी आलेले ४०२ मत पाए ।

गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले १ हजार १८४ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९३० मत पाए ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेका मोहमद ताहिर मुलसलमाले १ हजार १५० मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले १ हजार ७६ मत पाए ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित विजयी हुँदा एमालेका बेगम पुनले ५३५ मत पाए । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु १ हजार ४३ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी शेरबहादुर थारुले ६७८ मत पाए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री १६१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नरबहादुर रोकाले ११६ मत पाए ।

कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही १४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही ११५ मतमा चित्त बुझाउन पुगिन् ।

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत पाएर पराजित हुनुपरेको छ ।

दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाएका छन् ।

रुकुम ९पश्चिम भाग० को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री ५९० मतका साथ निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले ५३७ मत पाए ।

बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा ४८७ मत पाएर पराजित भए ।

डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा ४६८ मतका साथ निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले ३०१ मतमा सीमित हुनुपरेको छ ।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका मानसिंह बडाल ३५८ मत पाएर पराजित भए । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द १ हजार १०७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४८७ मतमै चित्त बुझाउनुपरेको छ ।

  • १८ मंसिर २०८१, मंगलवार ०७:२४ प्रकाशित